परिचय

 

 

नेपालमा मत्स्यपालनको इतिहास करिव सात दशक लामो छ । जलस्रोतको लागि प्रचुर सम्भावना भएको हाम्रो देशमा विगत लामो समयदेखि मत्स्यपालन कार्य गरिदै आएको एउटा सफल कृषि कार्य हो । भौगोलिक विविधता र हावापानीको विशिष्टता अनुसार विगत केही दशक यता मत्स्यपालन नेपालको एक मुख्य कृषि कार्यको रुपमा विकसित हुदै आएको छ । अझै पनि हाम्रो देशमा केही मात्रामा माछामासुको आयात भइरहेको छ । देशको भौगोलिक अवस्था अनुसार मत्स्यपालनका लागि उपयुक्त र संभाव्य स्थानहरुकोपहिचान गरी चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछापालनको व्यवसायिक रूपमा विकास र विस्तार गर्न जरुरी देखिएको छ । मत्स्यपालन ब्यवसायलाईखाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई पर्यटन, रोजगारी, आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका हिसावले पनि एउटा आधारशिलाको रुपमा लिन सकिन्छ।

कृषि,जलस्रोतर पर्यटन नेपालको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने प्रमुख आर्थिक क्षेत्रहरु हुन्। कूल गार्हस्थ उत्पादनमा एक तिहाइ योगदान र दुई तिहाइ जनताको जिवीकोपार्जनको मुख्य आधार रहेकोले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो।कृषिका विभिन्न उपक्षेत्रहरु मध्ये मत्स्यपालन,बाली, फलफुल र पशुपन्क्षी मध्ये मत्स्यपालनले एक गतिशील र उदीयमान उपक्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ।सानो संरचना एवं कम जनशक्ति भए पनि मत्स्य विषेशज्ञ,वैज्ञानिक, प्राविधिक र मत्स्य कृषक व्यवसायीहरुको अथक प्रयासबाट वार्षिक ८६,५४४ मेट्रिकटन माछा उत्पादन भइरहेको छ । मत्स्य उपक्षेत्रले कुल गार्हस्थ उत्पादनमा१.३१ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा ४.१८ प्रतिशतलेयोगदान पुर्‍याउन सफल भएको छ। आर्थिक वर्ष २०७४/०७५ मा मत्स्य उपक्षेत्रको बृद्धिदर क्रमश: उत्पादनमा ८.९६ प्रतिशत र पोखरीको क्षेत्रफलविस्तारमा १४.७१ प्रतिशत हाराहारीमा रहेको छ। विगत दश वर्षमा मत्स्य उपक्षेत्रको बृद्धिदर दोहोरो अंकमा रहेकोले कृषिका विभिन्न पेशा मध्ये मत्स्यपालन व्यवसाय एक आकर्षक पेशाकोरुपमा स्थापित भएको छ। गरिबी न्यूनीकरण र पोषण सुधारमा  महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखेर नेपाल सरकारले मत्स्य विकासका लागि कार्यक्रम तथा बजेटमा क्रमशः बृद्धि गरिरहेको अवस्था छ।विगतको तुलनामा नेपालको मत्स्य विकासले उल्लेखनीय फड्को मारेको भए तापनि प्रति वर्ष प्रति व्यक्ति माछा उपलब्धताको हिसावले विश्वको औसत २० के.जी. र अल्प विकसित मुलुकहरुको११ के.जी. को तुलनामा नेपालमा धेरै कम अर्थात् ३.३९के.जी. मात्ररहेको छ। मत्स्यपालन ब्यवसाय प्रति कृषकव्यवसायीहरुको आकर्षण बढ्दै गइ रहेको छ तर प्राविधिक सेवा प्रवाह र अनुदान सहयोगको क्षेत्रमा यसलाई ब्यापक रुपमा विस्तार गर्न सकिएको छैन। नेपालको भौगोलिक विविधता अनुसार न्यानो पानीमा कार्प माछापालन र चीसो पानीमाट्राउट माछापालन भइरहेको छ । तराई, भित्रि मधेश र मध्यपहाडमा कार्प माछा तथा मध्यपहाडको माथिल्लो क्षेत्र र उच्च पहाडको तल्लो क्षेत्रमा ट्राउट माछापालन ब्यापक रुपमा विस्तार भइ रहेको छ । मत्स्यपालन र ब्यवस्थापन तर्फ १,३८,४३९ जनाले प्रत्यक्ष रोजगारी पाएको र ट्राउट माछापालन तर्फ २० जिल्लाका करिव १३० जना कृषकहरु प्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

नेपाल जलस्रोतको दृष्टिकोणले धनी राष्ट्रको रुपमा परिचित छ । यहां अनेक प्रकारका जल सम्पदाहरुरहेकाछन् । यहाँ झरना, खोला, नदी, तालतलैया, घोल, सिमसार, रिजरभ्वायर,सिमसार, रामसार र अनेक साना ठूला पानीका मुहानहरु अवस्थित छन् । नदी ३९५०००,ताल५०००,रिजरभ्वायर१५००, सीमसार तथा घोल १२५०० र सिंचित धानखेत३९८०००हेक्टर आदि गरीकुल ८,१२,००० हेक्टर जलाशय क्षेत्रफल रहेको छ । नेपालका सम्पूर्ण प्राकृतिक जलाशयहरुको जलभण्डार क्षमता करिव २ लाख २ हजार मिलियन क्युबिक मीटर रहेको छ । विभिन्न प्रकारका कृत्रिम र प्राकृतिक जलाशयहरुमा अनेक जाति प्रजातिका माछाहरुपाइन्छन् । माछाका अतिरिक्त विभिन्न जलीय जीवहरु समेत पाइन्छन् ।

यहाँका जलाशयहरुमा स्थानीय जातका माछाहरु बारे विभिन्न समयमा गरिएका अध्ययनको आधारमा १८५ प्रजातिका माछा (डा. जीवन श्रेष्ठ १९९५-२००१),२१७ प्रजातिका माछा ( डा. जीवन श्रेष्ठ २००८),१९१ प्रजाति ( डा. शर्मा २००८) र २३०प्रजाति (कृष्णगोपाल राजबंशी २०१३)स्थानीय जातका माछाहरु पाइन्छन् भनिएको छ ।यसका अतिरिक्तअझै पनि पहिचान हुन बांकी केही प्रजाति रहेका पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । यहाँका जलाशयमा पाइने माछा एवं जलीय जीवहरुबाट प्राकृतिक जलाशयको वातावरण र जलीय जैविक विविधता कायमगर्न मद्दत पुर्याइ रहेका छन् ।यस्ता जल सम्पदाहरुलाई मत्स्यपालन कार्यमा उपयोग गर्न सकेको खण्डमा रोजगारीको सिर्जना, गरिबी निवारण र थप आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको छ ।

पहिले कृषि विभाग अन्तर्गत रहेको मत्स्य विकासको संगठन संरचना हाल आएर पशु सेवा विभाग अन्तर्गत समायोजन भएको छ ।यसभन्दा अगाडि कृषि विभाग अन्तर्गत मत्स्य विकास निर्देशनालयको मातहतमा १२ वटा निकायहरुरहेकोमा हाल सङ्घीय, प्रादेशिक र स्थानीय तहको संगठन संरचान अनुसार सङ्घीय कृषि तथा पशु पन्छी विकास मन्त्रालय, पशु सेवा विभागको मातहत रहने गरी केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रस्थापना भएको छ । यस केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र अन्तर्गत मत्स्य मानव संशाधन विकास तथा प्रविधि परिक्षण केन्द्र, जनकपुर, धनुषा, प्राकृतिक जलासय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र, हेटौंडा, मकवानपुर र मत्स्य शुद्ध नस्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, भैरहवा, रुपन्देहीगरी तीन वटा निकायहरुको स्थापना भएको छ ।

यसका अतिरिक्त पहिलेका जिल्ला कृषि विकास कार्यालयमा रहेको मत्स्य विकासतर्फको संगठन र जनशक्तिलाई प्रादेशिक निकायहरुको रुपमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुस्थापना गरी सोही निकायबाट कृषक ब्यवसायीहरुलाई आवश्यक सेवाप्रदान गर्ने ब्यवस्था मिलाइएको छ । साथै मत्स्य विकासको लागि करिव १९१ जना मत्स्य अधिकृत र प्राविधिक जनशक्तिहरु मत्स्य विकास र प्रसार सेवामा तथा नेपाल कृषि अनुसन्धान् परिषद् अन्तर्गत५४जना वैज्ञानिक र प्राविधिकहरुमत्स्य अनुसन्धानमा क्रियाशील रहेका छन् जुन आजको मत्स्य विकासको गति अनुरुप पर्याप्त छैन।

केन्द्रीय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र, बालाजु, काठमाडौंमत्स्य भवन माछापोखरी, बालाजुमा अवस्थित रहेको छ । यस केन्द्रबाट कृषक ब्यवसायीहरुले आवश्यक सेवा लिन सक्ने छन् । मत्स्य क्षेत्रको थप विकास र विस्तारका लागि यो सङ्घीय निकाय सधै क्रियाशील रहने र आफ्ना मातहतका निकायहरुलाई पनि सशक्त बनाउने प्रतिबद्धता ब्यक्त गर्दछ ।